(१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा १४ को उपदफा (५) वा दफा १६ को उपदफा (२) बमोजिम कुनै फरार अभियुक्त वा कसूरदारलाई सपुर्दगी गर्न नसकिने भएमा जुन कसूरका सम्बन्धमा सपुर्दगीको माग गरिएको हो त्यस्तो कसूर नेपाल कानून बमोजिम पनि कसूर मानिने रहेछ भने मन्त्रालयले त्यस्तो अभियुक्त उपर कानून बमोजिम कारबाही चलाउनु पर्नेछ ।
(२) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम फरार अभियुक्त उपर कारबाही चलाउनु पर्ने भएमा सम्बन्धित जिल्ला सरकारी वकीलले अदालत वा अन्य सक्षम निकाय समक्ष मुद्दा दायर गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम फरार कसूरदार उपर कारबाही चलाउँदा त्यस्तो कसूरदार माग गर्ने राज्यको अदालत वा अन्य सक्षम निकायबाट कसूरदार ठहर भइसकेको भए प्रचलित कानून बमोजिम सजायको कार्यान्वयन गरिनेछ ।
(४) यस दफा बमोजिम फरार अभियुक्त वा कसूरदारका सम्बन्धमा अदालत वा अन्य सक्षम निकायले गरेको फैसला तथा भएको सजायको जानकारी मन्त्रालयले माग गर्ने राज्यलाई गराउनु पर्नेछ ।